महेन्द्रनगर। दार्चुलाको मार्मा गाउँपालिकास्थित लटिनाथ स्वास्थ्य चौकीले नसर्ने रोग परीक्षण तथा पोषण लेखाजोखा अभियान सम्पन्न गरेको छ। स्वास्थ्य चौकीले ‘हामी स्वास्थ्यकर्मी हरेक महिना प्रत्येक टोल कार्यक्रम’ अन्तर्गत नसर्ने रोग परीक्षण तथा पोषण लेखाजोखा अभियान सम्पन्न गरेको हो।
चैत्र ८ गतेदेखी सुरु भएको अभियान मंगलबार (चैत्र १३ गते) सम्पन्न गरिएको स्वास्थ्य चौकी प्रमुख तथा जनस्वास्थ्य निरीक्षक बसन्त खत्रीले बताए । उनका अनुसार मार्मा गाउँपालिका–२ स्थित ठूल्थाला, नान्थाला, लाम्बगर, मटेला, ओडिखेत, गन्गडा, सेलविसालगायतका टोलहरुमा नसर्ने रोग परीक्षण तथा पोषण लेखाजोखा गरिएको थियो। स्वस्फुर्त रुपमा लटिनाथ स्थास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले अभियान सञ्चालन गरेका हुन् ।
अभियान अन्तर्गत ४० वर्षमाथिका सबै टोलबासीमा नसर्ने रोग मुख्य गरी उच्च रक्तचाप, मधुमेह आदिको निदान र जन्मेदेखी ५९ महिनासम्मका बालबालिकाको पोषण लेखाजोखा गरी पोषण स्थिती पत्ता लगाउने कार्य गरिएको छ। यस्तै स्वास्थ्यकर्मीले कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थासम्म ल्याई उपचार प्रणालीमा आवद्ध गराउने, नसर्ने रोगका बिरामीलाई नियमित उपचार प्रणालीमा आवद्ध गराउने लगायत कार्य समेत गरेको छ।
जनस्वास्थ्य निरीक्षक खत्रीका अनुसार अभियान अन्तर्गत ५ सय ६६ जनाले सेवा लिएका थिए । जसमध्ये १ सय १३ जना बालबालिकाको पोषण लेखाजोखा, कडा शीघ्र कुपोषित १ जना, ६ जना बालबालिकामा मध्यम शीघ्र कुपोषित पाइएको छ । ६ जनामा आङ खस्ने समस्या, उच्च रक्तचापका बिरामी ४१ जना, मधुमेहका ६ जना बिरामी पाइएको उनको भनाई छ। त्यस्तै, ६ देखी २३ महिनासम्मका ३९ जना बालबालिकालाई बाल भिटा वितरण गरिएको उनले बताए। यो अभियान प्रत्येक महिना सञ्चालन गरिने छ।
नसर्ने रोग परीक्षण तथा पोषण लेखाजोखा अभियानमा जनस्वास्थ्य निरीक्षक खत्रीसँगै सिनियर अहेव दिपकसिंह विष्ट, ल्याव टेक्निसियन अर्जुनदेव जोशी, अनमि आशा भट्ट, कार्यालय सहयोगी राजेन्द्र महर खटिएका थिए। लटिनाथ स्वास्थ्य चौकीले चिकित्सकीय सेवा सहित २४ सै घण्टा आकस्मिक सेवा सेवा दिँदै आएको छ ।
स्वास्थ्य चौकीले नियमित ओपीडी सेवा, प्रयोगशाला सेवा, डेन्टल सेवा, एक्सरे, इसीजी र युएसजी सेवा, १० हप्ताभित्रको निशुल्क गर्भपतन सेवा, आयुर्वेदिक औषधी, २४ सैं घण्टा आकस्मिक सेवा, बर्थिङ सेवा, एम्बुलेन्स सेवा अनुदान औषधालय सेवा र कोल्ड चेन सब सेन्टरलगायतका सेवा उपलब्ध गराउँदै आएको छ।